२८ आश्विन २०८१, सोमबार

शान्ति र लोकतन्त्रको धारमा पार्टीहरूलाई रूपान्तरण गर्नु कांग्रेसको दायित्व हो: सिटौला

प्रकाशित मिति :  25 February, 2024 4:18 pm


पूर्व महामन्त्री सिटौला नेपाली काँग्रेसको १४औँ महाधिवेशन उद्घाटन समारोहमा शुक्रबार शुभकामना मन्तव्य व्यक्त गर्दे काँग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला । तस्बिर: रत्न श्रेष्ठ, रासस

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीहरूलाई शान्ति र लोकतन्त्रको धारमा रूपान्तरण गर्नु कांग्रेसको दायित्व भएको बताएका छन् ।

आइतबार कांग्रेसबाट नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै नेता सिटौलाले पार्टीहरूलाई शान्ति र लोकतन्त्रको धारमा रूपान्तरण गर्नु र राष्ट्रहितको बाटो देखाउने दायित्व कांग्रेसकै काँधमा रहेको बताएका हुन् ।

कांग्रेसले सबैसँग सहमति, सहकार्य र एकता निर्माण गरेर व्यवस्थालाई सुदृढ गर्न भूमिका खेल्नुपर्ने सिटौलाको भनाइ छ । “नेपाली कांग्रेसको अरू पार्टीको भन्दा अलि बढी दायित्व छ जस्तो मलाई लाग्छ । हामी संगठनले थोरै हौँ अथवा धेरै । अन्य पार्टी भन्दा नेपाली कांग्रेस पार्टीको दायित्व सदैव बढी हुन्छ । शान्ति र लोकतन्त्रको धारमा रूपान्तरण गर्दै लिएर हिँड्ने नेतृत्वदायी दायित्व पनि कांग्रेसको काँधमा छ”, सिटौलाले भने, “अन्य पार्टीहरूलाई राष्ट्रहितको पथप्रदर्शन गर्ने, बाटो देखाउने दायित्व पनि कांग्रेसकै काँधमा छ । त्यसैले हामीले सबैलाई मिलाएर सहमति, सहकार्य र एकता निर्माण गरेर व्यवस्थालाई सुदृढ गर्नु पनि छ ।”

नेपाल स्वतन्त्र, स्वाधीन देश रहेको भन्दै उनले सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो भनेर दुनियाँलाई प्रमाणित गर्दै देशको समस्या आफैँ उभिएर समाधान गर्न सक्छौँ भन्ने सन्देश दुनियाँलाई दिनसक्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !