९ मंसिर २०८१, आइतबार

दुग्ध किसानको बक्यौता तत्काल भुक्तानी गर्न माग गर्दै रास्वपा र राप्रपालाई किसानले बुझाए मागपत्र

प्रकाशित मिति :  25 February, 2024 5:17 pm


काठमाडौँ। दुग्ध किसानको समस्या तत्काल समाधान नगरेको भन्दै एक दर्जन भन्दा बढी किसान संगठनले आजदेखि सरकार विरुद्ध आन्दोलन सुरु गरेका छन् ।

आज (आइतबार) दुग्ध उत्पादक किसानका समस्याबारे राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन, केन्द्रीय दग्ध सहकारी संघ नेपाल, नेपाल दुग्ध व्यवसायी संघ, दुग्ध उत्पादक किसान संघ नेपाल, लगायतका १५ वटा संघ संगठनहरूले किसानको दूध विक्री नभए‌को र समयमा नै भुक्तानी नपाउँदा समस्यामा परेको भन्दै राष्ट्रि स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई मागपत्र बुझाएका छन् ।

अखिल नेपाल किसान महासंघका महासचिव बाबुराम थापाले किसानहरूले दुग्ध तथा दुग्धजन्य पदार्थ उत्पादन तथा विक्री वितरणमा व्यहोर्न परेका समस्याहरू समाधान गर्न नेपाल सरकार र सम्बन्धित पक्षसँग पटक पटक आग्रह गर्दै आए पनि वेवास्ता गरेकाले आन्दोलन गर्न बाध्य भएको बताए ।

मुलकमा दैनिक ६५ देखि ७० लाख लिटर दूध उत्पादन हुने गरेको तथ्य सार्वजनिक हुँदै आएको र मुलुकको सबै ग्रामीण भेगबाट संकलन गर्न सक्दा दूधमा मुलुक आत्मनिर्भर बन्ने अवस्था रहेको किसान संघ संगठनहरूको दाबी छ ।

भोलि (सोमबार) आफ्नो मागहरूका बारेमा संघीय संसद कोष, सहकारी तथा समितिसँग छलफल गर्ने, फागुन १४ र १५ गते ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा १२ बजेसम्म नारा जुलुशसहित धर्ना दिने र ज्ञापन पत्र बुझाउने थापाले बताए ।

महासचिव थापाका अनुसार फागुन १७ गते विहान १० बजेदेखि १२ बजेसम्म मुख्य रूपमा चक्काजाम गर्ने, फागुन १६ गते दुग्ध किसानका मागहरू प्रतिनिधि सभा र राष्ट्रियसभाका सदस्यहरूलाई बुझाउने छ ।

यस्तै, फागुन २१ गतेदेखि माइतीघर मण्डलामा धर्ना तथा विरोध प्रदर्शन गरी माग पूरा नभएसम्म निरन्तर जारी रहने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !