२८ आश्विन २०८१, सोमबार

मिटरब्याज पीडित र दुध किसानको समस्या समाधान नभए संसदको अर्को बैठक अवरुद्ध पार्छौंः अध्यक्ष लिङ्देन

प्रकाशित मिति :  26 February, 2024 12:14 pm


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मिटरब्याज तथा लघुवित्त पीडित र दुग्ध किसानहरूको समस्या समाधान नभए संसदको आगामी बैठक अवरुद्ध पार्ने चेतावनी दिएका छन् ।

मिटरब्याज पीडित र लघुवित्त पीडितहरूले फेरि काठमाडौँमा आन्दोलन चर्काइरहेका बेला उनले सरकारले उनीहरूलाई खुशी बनाएर फिर्ता नगरे आफूहरू संसद र सडक दुवै संघर्ष चर्काउने चेतावनी दिएका हुन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै अध्यक्ष लिङदेनले बालकुमारी घटनामा दोषी करार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा, मिटरब्याजी पीडित, लघुवित्त पीडित र दुग्ध उत्पादक किसानहरुको भुक्तानीको विषयमा सर्वहारावर्गको अधिनायकत्व स्थापना गर्ने नारा दिएर अगाडि बढेको पार्टी नेतृत्वको सरकारले देखेर पनि नदेखेको जस्तो गरेर बसेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

लिङ्देनले उनीहरुको मागलाई सम्बोधन नगरेर संसदको आगामी बैठक अवरुद्ध गर्ने र त्यसक्रममा संसदबाट बाहिरिन परे पनि आफ्नो पार्टी तयार रहेको पनि बताए ।

अध्यक्ष लिङदेनले सरकारले पीडामा रहेका जनताको समस्यालाई पनि बेवास्ता गरिरहेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस !