२८ आश्विन २०८१, सोमबार

यस्ता छन् आज बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णय (पूर्णपाठ)

प्रकाशित मिति :  26 February, 2024 6:18 pm


काठमाडाैँ । सर्लाहीको बरहथवामा गत पुस २० गते भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका ३० वर्षीय जयशंकर साहका परिवारलाई सरकारले १० लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीको गोलीबाट मृत्यु भएका साहका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

२०८० फागुन १४ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू:
१) प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पताल बनाउने भन्ने विषयको प्रदर्शनका क्रममा प्रहरीको गोली लागि मृत्यु भएका सर्लाही जिल्ला बरहथवा नगरपालिका वडा नम्बर ६ बस्ने मृतक जयशंकर साहको परिवारलाई आर्थिक सहायता स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने ।

२) सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको म्याद २०८०\११\१६ बाट लागु हुने गरी फागुन मसान्तसम्म थप गर्ने ।

३) सार्वजनिक खरिद (तेह्रौं संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने ।

४) बालकुमारी घटनाका सम्बन्धमा छानबिन गर्न गठित आयोगको सुझाव कार्यान्वयन गर्ने सम्बन्धमा प्रतिवेदन अध्ययन गरी २०८०\११\२० भित्र सिफारिस गर्ने गरी उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेत र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ रहेको समिति गठन गर्ने ।

५) भरतपुर महानगरपालिका प्रमुख श्री रेणु दाहाललाई बेलायत सरकारले प्रदान गर्ने International Mayor Award ग्रहण गर्न स्वीकृति दिने ।

६) २०८० कार्तिक १७ गते जाजरकोटलाई केन्द्रविन्दु बनाई गएको भूकम्पबाट क्षतिग्रस्त स्थानीय तहहरूलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने ।



प्रतिक्रिया दिनुहोस !